फाेटाे: कृष्पा श्रेष्ठ, उकेरा

सरकारै लागेपछि दूर्गन्धित भो बागमती
(समयरेखा)

बागतीको यो रूप बदलिएको धेरै समय भएको छैन। २००७ बाट हो बागमती प्रदूषित हुन थालेको। गणना गर्ने हो भने ७४ वर्ष भयो। २०४५ सालसम्मै पनि यति घिनलाग्दो भइसकेको थिएन बागमती। यसको आधारमा हेर्ने हो भने बागमती ३६ वर्षमै ढलमती भयो। एक सभ्यता बोकेको नदी ढलमा बदलिन लाग्ने समय हेर्ने हो भने यो निकै छोटो हो। यसले कति तीव्र गतिमा बागमतीलाई ढलमती बनाउने काम भयो भन्ने देखाउँछ।

२००७ - २०१७ साल

२००७ सालमा प्रजातन्त्र आएपछि नेपालमा शहरीकरणको सुरुवात भयो। २००७ देखि २०१७ सम्म काठमाडौँ उपत्यकामा जनसंख्या बढ्न थाल्यो, पानी र बिजुलीको माग बढ्यो।

सोही अनुसार सरकारले पनि काम गर्दै गयो। बागमतीको पानीलाई सुन्दरीजलमा ड्याम बनाएर बिजुली उत्पादन र खानेपानीमा प्रयोग गरियो। बिजुली उत्पादनमा प्रयोग भएको डिजेल मेसिनको तेल बागमती नदीमा मिसियो। त्यो बेलासम्म बागमती दायाँबायाँ हरियो नै थियो। नदीको स्वरूप बिग्रेको थिएन।

२०२० - २०२१ साल

हुतराम वैद्यको लेख अनुसार २०२०/०२१ सालमा बागमतीको बालुवा निकाल्न ठेक्का दिन थालियो। बालुवा निकाल्न कुनै मापदण्ड पालना गरिएन। यहीबाट बागमतीको दोहन सुरु भयो। यसरी बागमती दोहन पञ्चायतकालमा सुरु भयो तर नदीको स्वरूप नै बिगार्ने काम भने बहुदलकालमा तीव्र भयो।

२०३६ - २०४१ साल

वैद्यको वाग्मती नदी बाँचिरहोस् पुस्तक अनुसार २०३६ सालपछि बागमतीको विध्वंसका घटनाहरू अरू थपियो। २०४१ बाट नदीमा घरको ढल मिसाउने कामको सुरुवात भयो। यसको सुरुवातकर्ता थिए राष्ट्रिय पञ्चायतका अध्यक्ष तथा गृहमन्त्री समेत भएका नवराज सुवेदी। उनले २०४१ सालमा बागमती नजिकैको मैँजुबहालमा रहेको घरको ढल नदीमा मिसाए।

Responsive Image
नवराज सुवेदी
सुवेदीले घरको सेप्टी ट्यांकीको फोहोर बागमतीमा मिसाएका थिए। योबारे कुरा उठेपछि उनले ‘मेरो एउटा घरको मिसाएर के फरक पर्छ र’ भनेर आलटाल गरे।

सरकारकै मान्छेले नदीमा फोहोर मिसाएपछि अन्यलाई पनि बाटो खुल्दै गयो। घरमा सेप्टी ट्यांकी नराख्ने, नदीमा घरको ढल मिसाउने प्रवृत्ति मौलाउँदै गयो।

२०४८ - २०५० साल

२०४८ सालमा थापाथलीको पुल भत्कियो। त्यहाँ नयाँ पुल बनाउन भारतीय कामदार राखियो। ती कामदार थापाथलीको सुकुम्बासी बस्तीमा बस्न थाले। नदी किनारमा बिस्तारै बस्ती बढ्दै गयो।

२०५० सालमा त बागमतीको बालुवा ठेक्का दिएर जिल्ला विकास समिति काठमाडौँले ३० लाख आम्दानी गरेको देखिन्छ।

बागमती दोहनको शृङ्खला यतिकैमा रोकिँदैन। एकातिर नदीको किनारको अतिक्रमण बढ्यो। अर्कोतिर सरकारले बागमतीलाई बागमती रहन नदिएर पार्क, फुटबल ग्राउन्ड बनाउने, नदीको माझमा ढल निकासा गर्ने काम गर्न थाल्यो।

‘नदीको विशेषता भनेको पानी, माटो, ऊर्जा, जलजिवन पनि हुनुपर्छ। यी चार कुरा नदीका ४ अन्तर्निहित हुन्। तर ती रहेनन् बागमतीमा।

२०५२ साल

२०५२ सालमा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट ल्याउँदा पहिलोपटक बागमती सफाईको विषय उल्लेख गरेको देखिन्छ।

Responsive Image
स्व. भरतमाेहन अधिकारी
२०५२ असार २७ र असोज २९ मा दुई पटक बजेट वक्तव्य भएको थियो। सो बजेटमा तत्कालीन अधिकारीले ‘काठमाडौं उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न मेलम्ची र कोड्कु खानेपानी आयोजनालाई आवश्यक साधन परिचालन गर्न उचित कदम लिइने उल्लेख छ। दुई आयोजनाका लागि सात करोड बजेट विनियोजन गरियो।

पशुपति क्षेत्रमा बागमती नदीलाई यसमा मिसिने फोहर मैलाबाट मुक्त गरी स्वच्छ र सुरक्षित राख्ने उद्देश्यले गौरीघाटदेखि तीलगंगासम्म करिब तीन सय मिटर लामो टनेल र अलग्गै ढल निर्माण गर्ने कार्य सञ्चालन गरिने उल्लेख गरियो। खानेपानी तर्फ १ अर्ब ७० करोड १ लाख छुट्टाएको थियो।

Responsive Image
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी
अनि बागमतीलाई प्रदूषण रहित बनाउन तत्कालीन एमाले सांसद विद्यादेवी भण्डारीको संयोजकत्वमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन भयो। समितिलाई १२ करोड निकासा भयो।

त्यसपछि बागमती सफा गर्ने नाउँमा विभिन्न समितिहरू बन्ने क्रम सुरु भयो। व्यवसायी विनोद चौधरीले समेत सरकारले बागमती सफा नगर्ने भए आफूले गर्ने दाबी गर्न भ्याए।

Responsive Image
विनाेद चाैधरी (सांसद, प्रतिनििधि सभा)
विनोद चौधरीले ‘गङ्गा बागमती सरसफाइ अभियान’ भनेर नाम जुराए। उनले आफ्नी आमाको नाम जोडेर सार्वजनिक सम्पत्तिलाई निजी बनाउन खोजेको भनेर आलोचना भयो।

अनि बागमतीलाई प्रदूषण रहित बनाउन तत्कालीन एमाले सांसद विद्यादेवी भण्डारीको संयोजकत्वमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन भयो। समितिलाई १२ करोड निकासा भयो।

Responsive Image
स्व. गिरिजाप्रसाद काेइराला
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा गुह्येश्वरीबाट तिलगंगासम्मको नदी क्षेत्र सफा राख्न कार्यक्रम आयो। द्वारिका होटलकी सञ्चालक अम्बिका श्रेष्ठले पनि नदी सफा गर्न अग्रसरता लिइन्। नदी संरक्षण मञ्चको मेघ आलेले बागमती फेस्टिभलको आयोजना गरे। २०५२ देखि नेपाल सशस्त्र द्वन्द्वमा फस्यो। मा‌ओवादीले सशस्त्र विद्रोह सुरु गरेपछि गाउँ छाडेर शहर बसाइ सर्नेहरूको सङ्ख्या बढ्यो। त्यसको असर नदीमा पनि देखिन थाल्यो। लीलामणि पौडेल मुख्य सचिव भएपछि राज्यका स्रोत, सेना, प्रहरी लगायत परिचालन गरेर बागमती सफा गर्न थालियो।

२०६५ - २०८० साल

पशुपति क्षेत्र केन्द्रित भएको नदी सफाइ अभियान २०६५ सालमा अन्त पनि फैलियो। २०६५ जेठ २६ मा हालको बागमती एकीकृत समिति बन्यो। यो समितिले बागमती मात्रै नभएर बागमतीसँग जोडिएका अन्य नदी पनि सफा बनाउनु पर्ने निष्कर्ष निकाल्यो। सोही अनुसार कार्यक्षेत्र पनि तोकियो।

अनि बागमतीमा फोहोरसँगै पैसा पनि बग्न थाल्यो।

२०६६ मा १४ अर्ब १६ करोड ५० लाख प्रस्तावित बजेटसहित समितिले काम सुरु गरेको थियो। बागमती सफा गर्न०५१ देखि हालसम्म खर्चिएको रकम हेर्दा २१ अर्बभन्दा बढी रकम देखिन्छ। तर बागमतीको अवस्था सुधारिनुको साटो थप दुर्गन्धित भइरहेको छ।

२०८० - २१०० साल

२०८० देखि २१ सय (आउँदाे दुई दशक) सम्म बाग्मतीलाई सफा पार्न दुई खर्ब ७९ अर्ब ६० करोड ५० लाख रुपैयाँ खर्च हुने अर्को प्रस्ताव तयार छ ।

यो रकम एसियाली विकास बैंक (एडिबी) बाट सहुलियत ऋणबाट जुटाउने प्रस्ताव देखिन्छ। २० वर्षे कार्य योजनाभित्र बागमती नदीको दोहन रोक्ने र सफा पानी बगाउने, बागमती र अन्य सहायक नदी व्यवस्थापन गर्ने, शिवपुरी जलाधार क्षेत्रमै रहेको नागमती धाप ड्याम निर्माण गर्नेलगायतका कार्यक्रम देखिन्छन्।

यसैगरी यस कार्य योजनामा संघीय, प्रादेशिक र स्थानीय सरकारबीच नदी व्यवस्थापनको सहजीकरण गर्ने, बागमती नदी क्षेत्रको व्यवस्थापनका लागि विदेशी तथा स्थानीय लगानी बढाउने र अतिक्रमित घर-टहरा हटाएर बागमतीका सबै क्षेत्रमा हराभरा बनाउनेलगायतका योजनाहरू देखिन्छन्।

जति गुरुयोजना बने, जति पैसा खर्च गरियो त्यसको लक्ष्य बागमतीको पानी नुहाउन योग्य बनाउने नै देखिन्छ। तर सम्भव भएको छैन अझै।

र, बागमतीको पानी नुहाउन योग्य कहिले सम्भव हुन्छ ? यकिन पनि छैन। तर दाबीहरू कायमै छन्। योजना बनेकै छन्।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी उद्धव नेपाल बागमतीलाई सफा गर्न सक्दो मिहिनेत गरेको दाबी गर्छन्।

उकेरासँगको कुराकानीमा नेपालले समितिले तयार पारेको प्रस्ताव स्वीकृत भए समयमै बागमती ‘सफा’ हुने दाबी गर्न छुटाएनन्।

उपत्यकामा ठुला तथा सहायक ५७ नदीहरू मिसिन्छन् बागमतीमा। ती सबै फोहोर छन्, प्रदूषित छन्। बागमती सफा बनाउन त्यसमा मिसिने उपत्यकाका नदी र खोलालाई सफा गर्नुपर्ने देखिन्छ।

बागमती सफा बनाउन बागमतीमा मिसिने सहायक नदी तथा खोला सफा हुनुपर्ने र त्यसका लागि ५६ वटा ढल प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने अनुसन्धानमा देखिएको तर्क गर्छन् उनी।

कल्पना गरौँ त ती प्रशोधन केन्द्रको निर्माण अनि सञ्चालनमा कति खर्च लाग्छ? के यत्रो खर्च धान्न सम्भव छ?


Sundarijal Dam
फाेटाे: कृष्पा श्रेष्ठ, उकेरा


विजुली घरले बदलेको बाग्मती

केही अध्येताहरूको मत अनुसार सुन्दरीजलमा भौतिक पूर्वाधार निर्माण भएदेखि नै हो बागमती दुर्गन्धित हुन थालेको। २०४७ देखि बागमती सफाइ अभियानमा सक्रिय इन्जिनियर हुतराम वैद्यले आफ्ना लेखहरूमा त्यही दाबी गरेका छन्।

२०७० मा निधन हुनु अघिसम्म वैद्यले आफ्ना लेखपढ अनि सक्रियता बागमती सफाइमा केन्द्रित गरेका थिए।

२०४९ माघ ६ गते कान्तिपुर दैनिकमा वैद्यले लेखेको लेखमा '... उपत्यकामा जनसंख्या बढ्न थाल्यो। जनसंख्या बढेसँगै पानी र बिजुलीको माग पनि बढ्यो। बागमतीको पानीलाई सुन्दरीजलमै शहरीकरण गरियो। बिजुली आपूर्तिलाई स्थापना गरेको डिजेल मेसिनले जलेको तेल मिसियो…' लेखेका छन्। यसको केही आधारहरू पनि देखिन्छन्।

मोहनकृष्ण उप्रेतीको 'नेपालको बिजुली र जनसरोकार' नामक पुस्तकमा उल्लेख भए अनुसार पहिलो विद्युत् केन्द्र सञ्चालनमा आएको २३ वर्ष पछि विक्रम संवत् १९९१ मा ९ सय किलोवाट क्षमताको सुन्दरीजल निर्माण गरियो ।

त्यो बेलाको उत्पादन फ्रिक्वेन्सी ६० हर्ज थियो। पछि प्रणालीको फ्रिक्वेन्सी ५० हर्ज कायम गरिएपछि सुन्दरीजलले ६ सय ४० किलोवाट मात्रै विद्युत् उत्पादन गर्न थाल्यो।

यो योजनाले विद्युत् उत्पादन र खानेपानी आपूर्तिको काम समेत गर्छ। यहाँ ब्रिटिस सरकारको अनुदानमा २ सेट उत्पादन संयन्त्र जडान गरिएको थियो। विद्युत् उत्पादनपछि टेलरेसबाट निस्केको पानी काठमाडौँमा खानेपानी आपूर्तिमा प्रयोग गरियो, जसको प्रयोग अहिलेसम्म पनि कायमै छ।

विकास थापाको 'नेपालमा जलविद्युत' पुस्तक अनुसार यो जलविद्युत राणा भाइ-भारदारहरुलाई विद्युत् नपुगेर बनाइएको थियो। सुन्दरीजलबाट उत्पादित बिजुली काठमाडौँ नगरका सडकमा राखेर झिलिमिली पारिएको थियो।

सुन्दरीजलमा विद्युत् गृह बनाउँदा जुद्ध शमशेर प्रधानमन्त्री थिए। त्यसैले अड्डाको नाम श्री त्रिजुद्ध चन्द्र प्रकाश ज्योतिमा परिणत भएको थियो। त्यतिबेला राणाहरूले सिंहदरबार झलमल पारेर टुँडिखेल वरपर पाटन, लैनचौर, महाराजगन्ज, बालाजु आदि स्थानमा विद्युत् वितरण गरिएको थियो।

शिवपुरी जङ्गल क्षेत्रबाट प्रतिदिन करिब १० लाख घन लिटर पानी उपलब्ध हुन्छ। सुन्दरीजलमा ड्याम बनाएर पानी सङ्कलन गरियो। त्यही सङ्कलित पानीबाट विद्युत् उत्पादन सुरु भयो। त्यही पानी खानेपानीमा प्रयोग गरियो। अनि बागमती बग्ने पानी घट्यो। नदी सुक्खा हुन थाल्यो।

Sundarijal Dam
फाेटाे: कृष्पा श्रेष्ठ, उकेरा


त्रेता युग, मञ्जुश्री र वर्तमानको बागमती!

बागमती अनि काठमाडौं उपत्यकाको इतिहाससँग केही कथ्य मिसिएका छन् भने केही तथ्य। पहिला कथ्यकै प्रसंग उल्लेख गरौँ।

यो त्रेता युगको कुरा हो। सूर्यवंशी राजा दिलीप हिमत्वखण्ड नेपालको उत्तराखण्ड आएका थिए। उनी शिवपुरीको एक भागमा ध्यान गर्न बसे। त्यति नै बेला एउटा बाघ आयो।

बाघले गाई मारेर खान खोज्यो। सूर्यवंशी राजा दिलीपले धनुले हानेर बाघ मार्न लाग्दा उसले रूप फेर्‍यो। त्यो बाघ त भगवान् शिव पो रहेछन्। सूर्यवंशीले धनु उठाउनु अनि बाघकै शिरबाट भगवान् शिव प्रकट भई हाँस्न थाले। शिव हाँस्दा उनको मुखबाट जलाधार निस्कियो। त्यसैलाई बाघमती भन्न थालियो। बाघमती अपभ्रंश हुँदै बागमती बन्यो।

बागमतीबारे अर्को कथामा जाऊँ।

हिमवतखण्डमा दैत्यहरूले देवतालाई पराजित गरी आफ्नो अधिकार प्राप्त गरे। बागमती लगायतका नदीहरूको निकास मुनी महेन्द्रमान असुरले उपत्यकालाई विशाल तालको रूपमा परिणत गरे।

भगवान् श्रीकृष्ण लगायतले असुरको वध गरे। त्यसपछि तालको पानी निकास होस् भनेर बाटो बनाए। त्यसपछि यो उपत्यकामा मानववस्ती बस्न थाल्यो।

नेपालीहरू पानी र माटोलाई पूजा गर्ने हुन् अर्थात् प्रकृति पूजक। हिन्दु र बौद्ध धर्मावलम्बीहरू स्वभाव त प्रकृति पूजक जस्तो लाग्छन्। बौद्ध धर्ममा पनि बागमतीबारे कम्ती चाख लाग्दो कथा छैन।

उत्तरी चीनको पञ्चवर्ष पर्वतमा बोधिसत्त्व महामञ्जुश्री बस्थे। उनले चीनबाटै स्वयम्भूमा ज्योति उत्पन्न भएको थाहा पाए। ज्योतिको दर्शन पनि गर्ने अनि यहाँ मानववस्ती पनि बसाउने भनेर उनी नेपाल आए।

उनले ज्योतिको दर्शन गरे। बागमतीले दह बनाएको उपत्यकामा बस्ती बसाउन चोभारको पहाड काटेर बागमतीको पानीको निकास गराए। आफ्नो शिष्य धर्माकारलाई राजा बनाएर बस्ती बसाए।

अहिले पनि बौद्ध धर्मावलम्बीहरू महामञ्जुश्रीलाई बोधिसत्त्वको रूपमा पूजा गर्छन्। बागमतीको पानी बाहिर जाने चोभारमा जुन खोल्सो छ त्यो उनै मञ्जुश्रीले काटेको भाग रहेको विश्वास गरिन्छ अहिले पनि।

यी कथ्य भए, प्रमाणित तथ्य हैन।

तर बागमतीबारे ऐतिहासिक र प्रमाणिक तथ्य नै नभएको हैन। भूगर्भशास्त्रीय अध्ययनले पनि आदिम समयमा काठमाडौं उपत्यका तालको रूपमा थियो नै भन्छ, माथि उल्लेखित कथाले जस्तै।

अध्येताहरूले गरेको अनुसन्धान अनुसार उपत्यका दहको रूपमा रहेको र दह कटान भएपछि बस्ती बसेको बताउँछन् भोगिराज चाम्लिङ। भुगर्भशाष्त्रीहरुको अध्ययन अनुसार बागमती नदी ३० लाख वर्ष पहिले उत्तरबाट सीधै दक्षिणतर्फ बग्थ्यो। २८ लाख वर्षदेखि चाहिँ काठमाडौं तालमा परिणत हुन थाल्यो। सुरुमा बनेको त्यो ताल धेरै सानो र पछि ठुलो भयो।

१० लाख वर्षअघि जब महाभारत पर्वत शृङ्खला छिटो छिटो अग्लिन थाल्यो, चोभार पनि अग्लिएर बागमती नदीको बहावलाई थुनिदियो। लेक फैलिँदै गएर काठमाडौं उपत्यका ढाक्यो। पछि त्यो ताल फुटेर बस्ती बसेको हुन सक्ने बताउँछन् चाम्लिङ। तर चाम्लिङ एक कारण मात्रै उपत्यकाको पानी बाहिरिएको हुन नसक्ने बताउँछन्। उनले यसका तीन कारण खुलाए।

पहिलो, पृथ्वीको गर्भभित्रका महादेशीय आकारका टेक्टोनिक प्लेटको हलचल। यिनै प्लेटका हलचलले कीर्तिपुर-चोभार बिचमा खण्डीकरण हुन पुग्यो अनि गल्छी बन्यो।

दोस्रो, जलवायु परिवर्तन। टेक्टोनिक प्लेट उठेका कारणले जलवायुमा परिवर्तन आयो। प्लेस्टोसिन युग (२६,००,०००–१०,०००) को अन्तिम चरणमा जलवायु परिवर्तन हुँदा भारी वर्षा भएर बाढी आयो। अनि तालको पानी बगेर गयो।

तेस्रो , भूकम्प । भूकम्पले जमिन हल्लाएपछि पानी बगेको हुनसक्ने उनको बुझाई छ।

तीनमध्ये जुनसुकै कारणले तालको पानी उपत्यका बाहिर जान थालेको भए पनि पूर्ण रूपमा पानी बगेर जानुमा चाहिँ चोभार भन्ज्याङको बनावटले भूमिका खेलेको उनको बुझाइ छ।

'पुरातत्त्वले ३० हजार वर्ष पहिले बस्ती थियो भन्नु, जेनेटिक साइन्सले १७ हजार वर्ष पहिले तालको रूपमा उपत्यका रहे पनि डाँडामा बस्ती थियो भन्नुले यहाँको ताल मान्छेले पनि देखेका थिए भन्न सकिन्छ'उनले भने ' पछि तालको पानी सुक्दै गयो। बस्ती सर्दै आयो।'

जे होस् उपत्यकामा जमेको पानी बाहिर गयो, बस्ती बस्यो। ताल बनेको बागमती नदीमा परिणत भयो। वरपर फाँटहरू भए। फाँटमा खेतीपाती गर्न थालियो।

ऐतिहासिक घटनाक्रम अनुसार समृद्ध राज्य पनि बन्यो काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले प्रकाशन गरेको 'गोकर्णेश्वर इतिहास बदल्ने सुन्ताखानको अभिलेख’ अनुसार, समुद्री सतहबाट २,६५० मिटरको उचाइमा उत्पत्ति भएको बागमती नदीको लम्बाइ समुद्री सतहबाट १,१४० मिटरको उचाइमा अवस्थित कटुवाल दह (चोभार) सम्म मात्र हिसाब गर्दा ४४ किलोमिटर लामो छ।


Bagmati Ghat
फाेटाे: कृष्पा श्रेष्ठ, उकेरा


बागमती (अ)सभ्यता

स्वयम्भूबाट इशान कोणमा रहेको हालको शिवपुरी राष्ट्रिय निकुञ्जमा वागद्वारको पानीले काठमाडौ उपत्यकाभित्रै विष्णुमती, हनुमन्ते, मनोहरा, धोबीखोला, गोदावरी, टुकुचा, नख्खु खोला, बल्खु खोला लगायतलाई समेट्दै गंगामा मिसिन्छ।

त्यसैले बागमती नदी मात्रै हैन, सभ्यता पनि हो। बागमती सभ्यतामा जलाधार क्षेत्रभित्र विद्यमान ऐतिहासिक, सांस्कृतिक, धार्मिक अध्यात्मिक क्षेत्र छन्। बागमतीको किनारामा ३३ वटा त देवस्थलहरु छन् भने १२ स्थानमा घाट छ।

राजा, महाराजा र सर्वसाधारणहरूले आफ्ना परिवारका दिवंगत सदस्यहरूका सम्झनामा एवं धार्मिक उद्देश्यका लागि विभिन्न पाटी, पौवा, ढुंगेधारा, मन्दिर लगायत निर्माण गरेका थिए।

नदी किनारमा अवस्थित यस्ता सांस्कृतिक सम्पदाहरूका समुचित व्यवस्थापन गर्न गुठी लगायतका धरै परम्परागत सामुदायिक संगठनहरू कार्यरत त छन् तर नदीको दोहन रोकिएको छैन।

नदी र घाट मासेर मल, कारखाना पशुपालनको संरचना बनेका छन्। सुन्दरीजल फेँदीदेखि चोभारसम्म बागमतीलाई पछ्याउँदा नदीमा उद्योगको फोहोर फाल्ने, घरको ढल मिसाउने, नदी मिचेर घर बनाउने अनि पुराना बागमती सभ्यता नास्न भएका काम प्रशस्त देखिन्छ।

चोभारदेखि छैमलेसम्मजाँदा खहरे लगायतका केही स्थानीय खोला खोल्सी मिसिदा बागमती सफा हुँदै गएको देखियो। तर तर प्रमुख स्थानमै भने नदी प्रदुषित छ। यसले सभ्यता हैन असभ्यपन देखाइरहेको छ।

त्यसैले त बागमतीलाई भुगर्भशाष्त्र पढ्ने विद्यार्थीहरुले 'डेड रिभर' भनेर पढ्न थालेका छन्।

किन त ? काठमाडौँ विश्वविद्यालयका प्राध्यापक विकास अधिकारी नदीमा हुनुपर्ने जीव र वनस्पती नभएपछि मृत नदी भनिएको बताउँछन्।

'नदीमा जे हुनुपर्ने हो त्यो नभएपछि मृत हुने हो। बागमतीलाई मानवीय कमजोरीले नै झण्डै मृत बनाइयो' उनले भने।

फरक-फरक योजना ,बग्ला त सफा पानी !

स्यालमती र नागमतीको मिसिएपछि थप ठूलो भएको बागमतीमा उपत्यकामा पनि सफा पानी बगाउन धाप परियोजना बन्यो। दुई हजार ८० देखि ९० मिटरको उचाइमा रहेको धाप सीएफआरडी प्रविधिमा आधारित रहेर बनाइएको हो।

मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत हालसम्म ४५ करोड रूपैयाँमा देखिन्छ। यो ताल आठ हेक्टर अर्थात् १ सय ५८ रोपनीमा फैलिएको छ।

यो तालमा २४ मिटर अग्लो बाँध छ। यो बाँधमा वर्खामा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिन्छ। यस बाँधले सुख्खायाममा प्रतिसेकेण्ड ४० लिटरका दरले पानी छाड्न मिल्छ।

बागमतीमा सफा पानी बगाउने योजना मुताबिक नै नागमती बाँध परियोजना पनि बनिरहेको छ। यो परियोजना धाप बाँधभन्दा करिव दुई किलोमिटर तल शिवपुरी निकुञ्ज क्षेत्रमा पर्छ।



धाप बाँधमा जम्मा भएको पानी नागमतीको बाँधमा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा बागमतीमा मिसिन्छ। यो धापमा वर्षामा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी मिसाउने योजना देखिन्छ। यो पानीबाट विद्युत निकाल्ने उद्देश्य छ भने बागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ।

प्रस्तावित नागमती बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ। यो बाँधबाट चार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनः भरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्ने परियोजनाको दाबी छ।

बस्ती नजिकै यति ठूलो बाँध बनाउने नहुने भन्दै आलोचना समेत भएको छ। तर सरकार बाधबाट पछि हट्ने संकेत देखिएको छैन।

बाँध बाधेर पानीको मात्रा बढाउने योजना त्यति प्रभावकारी देखिएको छैन अहिलेसम्म। त्यसको विकल्प एकिकृत बागमती सभ्यता समीतिका सूचना अधिकारी नेपालले भनेजस्तै बागमती सफा बनाउन ढल प्रशोधन केन्द्रको आवश्यकता देखिन्छ। तर खर्च धान्ने कसले? कसरी?

(याे मल्टिमिडिया सामग्री अरुण कार्कीसँगको सहकार्यमा निर्माण गरिएकाे हाे।)



🕒 फागुन १४, २०८१  बुधबार प्रकाशित


उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।